सपना काठमाण्डौ।

Bon
7 min readNov 5, 2021

अँध्यारो भैसकेको थियो। दौडिँदै म पुल्चोक क्याम्पसको दक्षिण मेन गेट अगाडी आईपुगेँ जहाँ “अफिस अफ द डिन” भनेर हारियो बोर्ड लगाईएको छ। मेरो गन्तव्य क्यामपस भित्र हैन, घर जानु थियो। गेट नजिक माईक्रो गाडी चढ्नको लागि यात्रु प्रतिक्षालय छ। म त्यहि प्रतिक्षालयमा गएर उभिए। कति बेला मेरो डेरामा पुग्ने, कति बेला तातो खाना पकाएर खाने र कति बेला सुत्ने। सधैँझैँ यि प्रश्नहरु मेरा मनमा पलाईरहेका थिए। एक त माघको जाडो र त्यसमाथि चाँडो अँध्यारो हुने समय। अरुबेला गाडीहरुको घुइँचो हुने बाटो भएपनि, त्यो बेला सार्वजनिक गाडी भेटिन एक्दम गाह्रो हुने गर्दथ्यो। प्रतिक्षालयमा म जस्तै केहि यात्रुहरु पनि घर जान गाडी कुरिरहेका थिए।

काठमाण्डौ शहर। नेपालको राजधानी। यो शहरमा सबै देख्न पाईन्छ। अरबौँ खर्च गरेर बनाईएको भि.आई.पि एरियाका आलिशान महल देखि केहि हजार रुपिया बाट बनेको, बिस्नुमति छेउको, बास र जस्तापाताले ठड्याईएको घरहरु। ईमान्दारीको रोटी कमाउने समाजका कामदार देखि चोरी गरि पेट टार्ने फटाहाहरु। कसैको भाग्य चम्किने अवसर भने कसैलाई नाँङ्गै पार्ने शहर हो यो। त्यहि अवसरको पछि भाग्दै म पनि काठमाण्डौ शहर आएको एक सर्वसाधारण। रिङ्गरोड भित्र त जग्गा पनि आनाको करोडौँमा बिक्री हुन्छ। घर बनाउने सपना देख्नु त के यहाँ डेरा भेटिने सपना पनि महङ्गो छ। यसै कारण मजस्ता आम जनता कामदार हरु रिङ्गरोड को बाहिरी छेत्र तिर डेरामा बस्ने गर्छौँ। सायद त्यो बेला प्रतिक्षालयमा मसँगै उभिरहेका ति मानिसहरु पनि म जस्तै बाहिरी छेत्रमा बस्दा हुन्।

जाडो निकै बढिसकेको थियो। भाग्यवस, बेलुकाको पौने सात बजेतिर एउटा गोदावारी जाने माइक्रो गाडी आईपुग्यो। काठमाण्डौँको माईक्रोमा चढ्ने नलेखिएको एउटा नियम के छ भने जसले गाडीको ढोका नेरीको ह्यान्डललाई ढोका खुल्नसाथ समाउन सफल भयो उस्ले गाडीमा प्रवेस गरेर खाली भएको सिटमा बस्न पायो। यो गाडीमा पनि ढोका खुल्न साथ मानिसहरु तछाडमछाड गर्दे माइक्रोमा प्रवेस गर्न खोज्दै थिए। हुन त मलाई त्यस्तो भिडमा संलग्न हुने कुनै मन थिएन तर डेरासम्म पुर्याउने मेरो अन्तिम गाडी यहिमात्र होला भनेर म पनि त्यो तमाशाको पात्र बन्न पुँगे।

“बिस्तारै चढ्दा हुन्छ। यँहा ओर्लिने मान्छे धेरै छन्।” — भनेर खलासी करायो। त्यो सुन्नसाथ मैले ओर्लिनेहरुको लागि बाटो छोडिदिँए। केहि मान्छेहरु ओर्लिएपछि भित्र चढ्छु भनेर पर्खेको त सबै खाली भएका सिटहरुमा अघि प्रतिक्षालयका मानिसहरु बसिसकेका रहेछन्। म पनि तिनिहरुभन्दा अघि सरेको भए म नि अहिले बसिरहेको हुन्थे तर धन्न होस घर जाने गाडी त पाईयो भन्दै म गाडीभित्र ठिक चालकको सिट पछाडीको पोल समाएर उभिए। मेरो छेउमा सिट पाउन नसकेका अरु अभागीहरु पनि सँगै आएर उभिए। खलासीले जौँ जौँ भन्दै गाडीको ढोका छेउ २ पल्ट हत्केलाले हान्यो र गाडीमा चढेर ढोका बन्द गर्यो। त्यसपछि गाडी अघि बढ्यो।

केही अगाडी पुगेपछि गाडी जावलाखेल पुग्यो। चालकको छेउको सिटका यात्रुहरु ओर्लिन सुरु भए तर म यस्तो ठाउँमा उभिरहेको थिए जताबाट मलाई त्यो सिटमा पुग्न निकै गार्हो थियो। “आज बस्न नपाई घर पुगिने भईयो” — मैले मनमनै सोँचे। सबै ओर्लिएपछि गाडीमा पहिलो चढ्ने यात्रु थिइन एक युवती। सलक्क जिउ भएकि र ब्लेजर र स्कर्ट लगाएकी ति युवती सुरुमा गाडी भित्र पसेको भएर चालकको छेउको सिटमा गएर बसी। साचैँ नै सिम्पल अनुहार भएको केटिहरु खुला कपाल र चस्मा लगाए पछि कति आकर्षित देखिन्छन।

त्यो गाडीमा उस्लाई एकपल्ट आँखा नचिम्ली हेर्नेहरु मध्ये म र चालक संगै अरु मेरा छेउमा उभिरहेका केटाहरु पनि थिए। गाडीमा कोहि राम्रि युवती चढ्दा मेरो छेउको सिटमा बसिदिए हुन्थ्यो भन्ने कुरा त सबै केटाहरुको मनमा उब्जिएकै हुन्छ। यसपाली चैँ चालकको मनोकामना पुरा भएछ। म भने पछाडिबाट हेर्न बाहेक केहि गर्न सकदिन थिँए । सबै ओर्लिएका यात्रुहरुसँग गाडीको भाँडा उठाइसकेर खलासी गाडीमा चढ्यो अनि गाडी अघि बढाउने सँकेत दियो। चालकले गियर शिफ्ट गरेर अगाडी बढाउन थालेपछि बोल्यो, “ढिलो भएछ आज है?”

चालकले त्यति बोलेपछि कतैबाट केहि उत्तर आएन। अब गाडीमा चालकको साथि भनेको त खलासीमात्र हुन्छ भनेर मैले खलासी तिर हेरे तर खलासीले सुनेको जस्तो लागेन। तर म केही बोलिन र मेरो ध्यान फेरी ति राम्रि युवती तिर लगेँ। “तिमिलाई सोध्या के” भनेर चालक ति युवती तिर ईशारा गर्यो। “अँ” भनेर उस्ले सानो आवाजमा उत्तर दिई ।

“यस्तो मौसममा न्यानो लुगा लगाउन पर्छ नि” — चालकले भन्यो। युवती केहि बोलिनन्।

“जाडो लागेको छैन?” — चालकले फेरी सोध्यो।

“लागिराको छ” — युवतीले जवाफ दिई।

“माघमा जाडो नलागेर कहिले चैँ लागोस त नि” — मेरो छेउमा उभिरहेको एक यात्रुले पनि जवाफ दियो।

मलाई लागिरहेको थियो कि सायद चालकले ति युवतीलाई जिस्काईरहेको छ। कोहि केटाहरु त्यस्तै हुन्छन। केटि जिस्काउनमा माहिर| जो केटी देख्यो कि पछाडि लागिहाल्ने। अझ ड्राईभर र खलासीको त जातै त्यस्तै। भनिन्छ चालक को जिन्दगी, हरेक मोडमा कोहि न कोहिसँग प्रेम गाँस्दै हिड्ने। मलाई समाजले सुनाएका यि हल्लाहरुमा पत्यार लाग्दैन थियो। तर त्यो बखत मेरो आँखा अगाडी जे देखिरा थिए, त्यस्ले मलाई ति हल्लाहरु हल्ला नभई वास्तविकता पो हो कि जस्तो लागिरहेको थियो। मैले देखिरहेको थिँए, चालक मुस्कुराउदै उतिर केहि भनिरहन्थ्यो, तर उनि अफ्ठ्यारो मान्दै एक दुई शब्दका उत्तर बाहेक केहि भन्दिन थिई।

“अनि तिमिले बिहे गरेउ?” — चालकले सोध्यो। लगनखेल चोक कटिसकेको हाम्रो गाडीको अगाडीबाट अर्को एउटा माईक्रो हुत्त्तिदै गलत लेनबाट आईरहेको थियो। हाम्रो गाडी को ठिक अगाडी आएपछि हाम्रो चालकले स्टियरिङ्ग व्हिल कस्सेर समाई गाडीलाई जोडले छेउ मोड्यो र त्यो हुत्तिदै गरेको गाडीलाई छल्यो। यस्ले गर्दा भित्र बसेका यात्रुहरु एक्कासी झस्किए। अर्को गाडी भने उहि गतिमा हुत्तिदै आफ्नो दिशातर्फ जाँदै अन्धकारमा बिलायो।

“गाडी चलाउन आउदैन? बाटोमा ध्यान छ कि केटीमा?” — मेरो छेउमा उभ्भिरहेको यात्रुले चालकलाई हकार्यो। हुन त चालक हेर्दा भर्खरको जस्तो थियो। हरियो क्याप पछाडि फर्काएर लगाएको, कानमा तामाको कुन्णल, चालकले लगाउने पहेलो भेष्ट। कसैले पनि एक नजर हेर्यो भने शिकारु हो कि भनेर शंका गर्ने हुलिया थियो हाम्रो चालक को। मेरो छेउको सहयात्रुले त्यति भनेपछी पछाडिबाट पनि चालकप्रति अपहेलना शब्द हरु एक एक गर्दै आउन थाले। चालकले भने केहि वचन फिर्ता नगरी चुपचाप गाडी अगाडी बढाई रह्यो।

हो, चालकको ध्यान सायद ति युवतीतिर नै थियो। चालकको मात्र हैन, मेरो छेउको सहयात्रुको ध्यान पनि उनितिर नै थियो। तर मैले चालकको दोष देखिन। अझ ति चालकले त बडो सचेतपुर्वक गाडी सम्हालेका हुन्। मेरो घर काठमाण्डौ बाहिर छ। म धेरै जसो रात्रि बसमा राजधानी आवतजावत गरिरहने यात्रु हो। सायद त्यहि भएर होला मैले राम्रो र नराम्रो चालक छुट्टाउन सक्छु। तर म चढेको गाडीमा धेरै यात्रु थिए र गाडीका स्टाफ भने २ जना मात्र। चालकको पक्षमा केहि भन्न मन लागे पनि जन-आक्रोशको धारले आफैलाई पो रेट्ने हो कि भनेर म चुप लागेर नै बसेँ। मेरो छेउको यात्रु भने मुस्कुराइरहेको थियो मानौ उस्ले ति युवतीलाई आफुतिर आकर्षित नै गरेजस्तो। गालिहरु एक एक गर्दै आईरहेको भएपनि चालकले केहि नबोलेको देखेर खलासीले यात्रुहरुलाई सम्झाएर शान्त बस्न आग्रह गर्यो।

केहि बेरमा हामी सात्दोबाटो वारी पुग्यौँ। सात्दोबाटो चोकसम्म ट्राफिक जाम रहेछ। हामी रोकिएको ठाँउदेखि सात्दोबाटोको चोक केहि दुरि पर भएको कारण त्यहाँ ओर्लिनु पर्ने गाडीबाट यात्रुहरुले ढोका खोल्न आग्रह गरे। नियम अनुसार जता पायो त्यतै यात्रुलाई झर्न दिन मनाहि छ तर सायद चालकलाई अघि गालिहरुले मन खाईरहेको थियो होला, त्यसैले उस्ले झर्ने अनुमती दिँदै खलासीलाई ढोका खोल्न भन्यो। यात्रुहरु एक-एक गर्दै झर्न थाले र खलासी एक-एक गर्दै भाँडा उठाउन थाल्यो।

ओर्लिने यात्रुहरुमध्ये ति युवती पनि एक थिईन्। “वहाँको भाँडा नउठा है कान्छा” — चालकले खलासीलाई ति युवती तिर ईशारा गर्दै भन्यो। खलासीले उन्को लिसकेको पैसा फिर्ता दियो र ति युवती आफ्नो बाटो तिर लागिन्। गाडी केहि खाली भएपछि म पनि अगाडी को त्यहि सिटमा बस्न गएँ जहाँ ति युवती बसिरहेकि थिईन्। बल्ल सिट पाईयो भनेर आरामको साँस लिए। ट्राफिक जाम केहि हलुका भएपछि गाडी अगाडी बढ्न थाल्यो। सात्दोबाटोपारी पनि खासै यात्रु नचढेपछि चालकले खलासीलाई “अगाडी बस् कान्छा” भनेर बोलायो। खलासीले पछाडिको ढोका बन्द गर्यो, अगाडी आएर मेरो छेउको खाली सिटमा बस्यो र अगाडीको ढोका पनि बन्द गर्यो । थोरै यात्रु भएको त्यो गाडी फेरी अघि बढ्यो।

“अगिको केटिको भाँडा किन नलेको दाई?” — खलासीले चालकलाई सोध्यो।

खलासीको त्यो प्रश्न मेरो मनमा पनि अघिदेखि नै चलिरहेको थियो। साँच्चै नै चालकहरुको बानी त्यस्तै हो त? मासु देखेर भोकाको कुकुर पछि लागेको जस्तै केटि देख्यो कि जिस्काउन खोजिहाल्ने? चालक र खलासीको बिचमा म, कान ठाडो बनाएर बसिरहेको थिँए। चालकद्वारा ति युवतीप्रति मात्र उपकार किन भन्ने प्रश्नको उत्तर सुन्न म ईच्छुक थिँए।

“उ मेरो स्कुलको साथी हो।“ — चालकले उत्तर दियो।

“ए। दाईको स्कुलको साथी पो। राम्री थियो त। प्रपोज गर्नु भएन कहिले?” — खलासीले जिस्काउँदै फेरी प्रश्न गर्यो।

“त्यस्तो हैन कान्छा। हामि स्कुलमा मिल्ने साथी मात्र थियौँ। उ र म पढाईमा उत्तिकै ट्यालेन्ट। कहिले उस्ले मलाई जित्ने, कहिले मैले उस्लाई। कक्षा १० पछि उ आफ्नो बाटो लागी, म आफ्नो। अहिले उ त्यहि जावलाखेलमा भको अल्का अस्पतालको डाक्टर हो।“ — चालकले भन्यो।

“पढाईमा दुवैजना ट्यालेन्ट भए तपाई चै माईक्रोमा कसरी दाई? तपाई पनि त डाक्टर ईन्जिनियर हुनुपर्ने हैन र?” — खलासीले सोध्यो।

“भाग्यले सबैलाई साथ दिँदैन नि कान्छा। उस्को ठुलो घर र धेरै सम्पत्ति भएको भएर न उस्लाई घरको टेन्सन थियो, न पैसाको। पढाई पनि राम्रो भएको भएर उस्को बाटो सिधा थियो। तर मेरो जिवन त्यस्तो गएन। १० पछि बुवा हिड्न पनि नसक्ने गरी बिरामी हुनुभयो। घरको कमाउने मान्छे नै बिरामी परेपछि घरमा कस्ले कमाई ल्याउने? म एक्लो छोरा भएकोले घरको सबै जिम्मेवारी मैले हेर्नु पर्यो। त्यै भएर पढाई पनि छुट्यो। केहि वर्ष त मैले पनि तँजस्तै खलासी भएर काम गरेँ। बल्ल बल्ल पैसा ऋणमा लिएर यो माईक्रो किने र अहिले यहि चलाएर घर हेर्दैछु।“

एकछिन बोली रोकेर चलाकले फेरी भन्यो “अहिले उ डाक्टर छे, म भने माईक्रोको ड्राईभर। हुन त हामि सबैजना काम नै गर्ने हो। त्यै पनि मान्छेहरुले तेरो र मेरो काम लाई हेला गर्दछन्। देखिस् नि अघि गाली गरेको? चुप लाग्नु बाहेक केहि गर्न मिल्दैन हामीले।“

चालकले यति भन्दै हामी हात्तिबनको खरिबोटमा पुग्यौँ। मसँगै बाँकी यात्रुहरु पनि गाडीबाट ओर्लिए। खलासीलाई गाडी भाँडा तिरेपछि म आफ्नो बाटो हिड्न थालेँ तर मेरो दिमागमा अझै नि त्यो चालकले भनेको कुराहरु खेलिरहेको थिए। गैर जिम्मेवार, स्त्रिलम्पट, जस्तै के के अनेक सोचिसकेको र भनिसकेका थिए ति यात्रुहरुले उस्को बारेमा। मैले पनि सायद उस्को कथा नसुनेको भए त्यहि अनुमान गर्थे होला।

साँचै नै मानिसहरु कसैको गल्ति देखाउनलाई र होच्याउनलाई कति चाँडो अघि सर्छन, तर कुन मानिसको जिवनमा के कस्तो समस्या छ, त्यो भने बुझ्न खोज्देनन्। हुन पनि किन होस् र? शहरजस्तो ठाउँमा हरेक मानिसको आफ्नै समस्या हुन्छ। यो व्यस्त जिवनशैलीमा आफ्नै समस्या समाधान गर्ने समय नभएको बेला अरुको समस्या हेर्ने समय कस्ले निकालिदियोस् र कस्ले बुझिदियोस्। त्यसमाथि सबैको जिवन एकसमान हुँदैन। सायद त्यो माईक्रोमा भएको हरेक व्यक्ति आफ्नै दैनिक युद्धबाट घर फर्किदैँ थिए होलान्। त्यो चालक, ति युवती, मेरो छेउको यात्रु, सबैको आफ्नै कथा हुनुपर्छ।

काठमाण्डौ शहर। नेपालको राजधानी। लाखौँ सपना र ति सपना साकार गर्न दिनहु युद्धको लाखौँ कथा भएको यो शहर। यहि शहरमा कसैको कथा सुन्न पाएको म एक सर्वसाधारण। मेरो पनि आफ्नै कथा छ। तर मेरो कथा कस्ले सुनिदिने?

--

--

Bon

Music Enthusiast, Guitarist, Software Engineer, Writer