मनोभुत

Bon
3 min readJul 28, 2023

मन नलागी नलागी पनि मलाई ऐला ख्वाइदिए। बहाना मात्र त चाहिने हो मेरा मित्रहरुलाई। धन्न बाईक चलाउन सक्ने अवस्थामा चैँ छु। नत्र आज नि उतै रात बिताउन पर्थ्यो| अनि भोलि बिहान बुडिले घरमा खुट्टा टेक्नसम्म दिन्नथिई। तर रात निकै भइसको। सायद उतै बसे नि हुन्थ्यो होला।

यो खोलाको बाटो निकै तर्साउछ भन्थे। चन्द्रमा पनि खै, कतै देख्दिन त आज। कतै आज तर्सिन पर्ने पालो मेरो त हैन? बेक्कारमा घर फर्किने निर्णय गरे कि? मजाले साथीहरुसित रमाईलो गरिराको हुन्थे होला ऐले। थुइक्क मेरो बुद्धि।

उफ्फ, यो दुर्गन्ध। यो खोला छेउछाउको मान्छेहरु कसरी बस्दा होलान्। दिनभरिको घामले फोहोर कुहाउने र रात परेपछि डुङ्गडुङ्गती गनाउने। मरेकै लास जस्तो पो गनाईराछ त। मरेका पशुहरुको उचित ब्यवस्था नभएपछि यहि खोलामा बगाईदिने त होलान्। कहिलेकाहिँ त मान्छेको लास पनि भेटिन्छ भनेको सुन्छु।

ओहो! कतै त्यहि मृतहरुको आत्माले तर्साउने पो हो कि। मरेपछि नि आत्माले शान्ती नपाएसी त हो नि तर्साउने। यस्तो फोहोरी, गनाउने खोलामा अन्तिम साँस फेर्न बाध्य भएपछि कस्ले नै पो शान्ती पाउँथ्यो होला र। हैन यो घाँडो बाइक पनि सिधा गुड्दैन त आज। झन घर चाँडो पुगौँ भनेको। यस्को कारणले आज मलाई केहि पनि भयो भने भोलि बिहानै यस्लाई घर छेउको गराजमा १० रुपैँयामै बेचिदिन्छु।

केहि पर पुगेपछि….

के रहेछ यो? बाटोको बिचमा हस्याङफस्याङ गर्दै हिड्छ त। कपाल नि लामो लामो छ। कपडा नि सेतो छ। लौ न! साच्चै नैँ भुत हिड्दो रैछ कि क्या हो यो खोला छेउमा । लौ न! म के गरु अब? अगाडि गए त्यो भुतले मलाई खाने हो कि। बाईक घुमाए मलाई पछाडि बाट समाउने हो कि। जसरी पनि आज म गएँ आज। त्यसका बाजे, मलाई हनुमान चालिसा पनि आउँदैन। हे भगवान! रक्षा गर। मलाई यो भुतदेखि बचाउ भगवान।

“यता सुन्नुस त।“

बाईक बन्द

अरे। बाईक कसरी रोक्कियो? यो भुतले मेरो बाईक बन्द गरिदियो कि क्या हो? फेरि स्टार्ट पनि हुँदैन त बज्या। त्यो भुत दौडिदै नजिकै आउँदैछ। के गरौँ म? हे भुत। मैले तेरो के खाईदेको छु र। मलाई जान दे। घरमा बुडि पर्खेर बसेकि छे।

भुत नजिकै आएपछि

“म लाई का लो पुल सम्म पु र्याईदिनुस न । म लाई मेरो श्रि मानले पर्खे र बसिरह नु भए को छ ।”

लौ न! यो भुतको त साथि पनि रहेछ। पुर्याईदिँउ कि के गरौँ ? पुर्याईदिन भने मलाई मार्ने हो कि? पुर्याँए भने २ जना मिलेर मलाई खाने हो कि। बहाना बनाएर भाग्नु बाहेक अरु उपाय छैन। “तर म त रातो पुल सम्ममात्र हो।”

“ह जुर मलाई त्य हाँ पुग्न एक्दम ज रुरि छ आ ज ।”

भुत पनि राम्रि रैछे। जिउँदै भएकि भए त बाटो भरि गफ गर्दै, मस्किदै पुर्याउन पनि हुन्थ्यो। कुन्नि के भएर चाँडै बितिछे। भन्थे केटि भुतहरु राम्रि देखा परेर यात्रुहरुलाई फसाउछन्। स्त्रिलम्पटहरुलाई सजाय भन्दै हेला गर्ने म आज आफैँ यो जालमा परिरहेको छु।

यो बाईक अझ स्टार्ट हुँदैन त। अगी देखि किक गरेको गरै छु। बाईक छोडेर भागौँ कि क्या हो। हे भुत! मेरो बाईक र मलाई जान दे। तँलाई म बिग्रेको बाईकमा कसरी पुर्याईदिन सक्थे र? “बाईक नै बिग्रियो जस्तो छ ।”

“ह्वस, म जान्छु त्य सो भ ए ।”

दौडिदै जाँदैछे त्यो भुत। धन्न बचियो। अब त मेरो पछि आउँदिईन होला।

भुरुरुरु बाईकबाट आवाज आऊछ….

बाईक पनि स्टार्ट भयो। बाईकको आवाज सुनेर फेरि पछि लागि भने? भगवानले मलाई भाग्ने मौका दिएका छन्। यस्तो मौका बारम्बार आउँदैन, भैरे। भाग भैरे, भाग।

अझ केहि पर पुगेपछि….

“त्यहि भुतले तर्साको भएर म यस्तो पसिनै पसिना भको, असहि साप। धरोधर्म अलिअलि मात्र ऐला खाको हो। मलाई लागेकै छैन।”

“तपाईँको साँसको गन्धले त त्यस्तो भन्दैन हजुर। अब बस्नुस एक्छिन। ११ बजे चेकिङ्ग सक्किएपछि घर जाने र भोलि कागज फिर्ता लिन प्रहरी कार्यलय आउने।”

मापसे गरेको भएर चेकिङ्गमा फसेँ । अर्को एकजना भाई पनि फसेको रहेछ । ऊसँग आफ्नो भुतसँगको भेटको कथा सुनाउन लागेको के थिँए, त्यो भुत मेरो अगाडि फेरि प्रकट भयो। सेतो कपडा भित्रबाट केहि झिक्न लागेकि थिई। मलाई लाग्यो अब चाहिँ म गएँ।

जिन्दगीका मिठा पलहरू याद गर्न थाले। कति सपना थिए, कति साकार पनि गरेँ। साथिहरु धेरै बनाएँ। बुडि र आमाबुवालाई पनि खुसि नै राखेको थिँए। कसैको चित्त दुखाएको याद छैन। सायद मेरो जिन्दगीको सफर यहिँ सम्म मात्र थियो। बिदा लिने बेला भएछ।

अनुहारमा मुस्कान राखेर आफ्नो भाग्य स्विकार गर्न लागेको थिँए म, भुत सोचेको ति बहिनीले त्यो भाईको हातमा बिलबुक र लाईसेन्स थमाईन्।

“यो सँधै आफुसँग राख्नु भनेको हैन मैले? कति पर देखि दौँडिदै आको छु म, हजुरलाई थाह छ? कति दुःख दिन सक्नुहुन्छ मलाई?”, उ बहिनीले त्यो भाईलाई कराईन्।

धन्न मैले बाईक चलाउदा मास्क लगाउने गरेको छु। नत्र मैले नि उ बहिनीको गाली खान्थे होला।

--

--

Bon

Music Enthusiast, Guitarist, Software Engineer, Writer