विद्वानसंगको वार्ता

Bon
16 min readNov 25, 2021

दुरोन्तो एक्सप्रेस/१२२४६
यश्वन्तपुर जंकसन्
ट्रेन छुट्ने समय: बिहान ११:१५ बजे
बुकिंग ईस्टेटस: आर.ए.सी(RAC) /१२
पि.एन.आर(PNR) नम्बर: ४७४७९३९८५२
जम्मा समय: २९ घन्टा ४५ मिनेट
जम्मा दुरी: १९४६ कि मि
क्लास: ३A

नागरिकतासंगै फोल्ड गरेर पाकेटमा राखिएको मेरो ट्रेन टिकटको प्रतिलिपीमा यति विवरण लेखिएको थियो। स्नातक तहमा दोस्रो साल, दोस्रो सेमेस्टरको परिक्षा सकाएर घर फर्किन भनेर ट्रेन छुट्ने समय भन्दा १ घन्टा अगाडि नै म स्टेसन पुगिसकेको थिए। यात्राको विषयमा मलाई ढिलाई गर्न मन लाग्दैन। यात्रा गर्नुपर्ने दिन मेरो नजर धेरै जसो घडिमा पुग्छ। अझ लामो दुरिको यात्रामा त म बिहान उठेदेखि गाडि चढ्ने समयसम्मको हरेक क्रियाकलापको सूची बनाएर पहिलै सतर्क भएर बस्दछु। यसरी सूची बनाएपछि कहिँ कतै केहि ढिलाई भईहाल्यो भने पनि बाँकी समयलाई त्यहि अनुसार व्यवस्था गर्न सकिन्छ। सायद यहि बानीले होला म आज सम्म यात्राको मामलामा कहिले ढिलो भएको छैन।

ट्रेन आफ्नो छुट्ने समयको ठिक १५ मिनेट अगाडि स्टेसनमा पुगेको थियो। एक हफ्ता अगाडि आर.ए.सी मा बुक भएको मेरो टिकट हिजोमात्र सि.एन.एफ मा परिणत भएको थियो। आर.ए.सी भन्नाले Reservation Against Cancellation भनेर बुझिन्छ र सि.एन.एफ(CNF) भन्नाले Confirmed भनेर बुझिन्छ। अर्थात मेरो सिट पक्का भईसकेको थियो र मैले कोहि आगन्तुकसंग मेरो सिट बाड्नुपर्ने थिएन। मैले सुनेको थिए भारतमा लामो दुरीको लागि यात्रा गर्नलाई १ महिना अगावत नै टिकट काट्नु पर्छ। यहि कारण मैले एक हफ्ता अगाडि काटेको टिकटले राम्रो सिट पाउँछु कि पाउदिँन भनेर हिजो सम्म मेरो मन डराईरहेको थियो। यहि सोचले गर्दा मैले मेरो अर्को पाकेटमा भएको मेरो मोबाईल झिकेर, ट्रेन को यापमा मेरो पि.एन.आर नम्बर राखेर, फेरि सिट नम्बर हेरेँ र सिट नम्बर अनुसारको कम्पार्टमेन्ट खोजेर ट्रेनभित्र प्रवेश गरेँ।

बैंगलोरमा पहिलो पटक प्रवेश गर्ने बेलाको मेरो ट्रेन यात्रा अढाई दिनको थियो। लामो ट्रेनको यात्रामा शरिर निकै थाक्छ र अल्छी पनि लाग्छ। त्यसैले पछि को केहि यात्राहरुमा मैले पुस्तक पढ्ने बानी बसालेँको थिए। किताब पढ्न सुरू गरेपछि समय कतिबेला बित्छ पत्तो लग्दो रहेनछ। झट्ट याद आयो। यस यात्राको लागी मैले कुनै पुस्तक तयार गरेको थिईन। ट्रेन चढ्ने सुरमा क्रियाकलापको सूची बनाएपनि ट्रेन चढिसकेपछि के गर्ने भनेर मेरो दिमागमा कहिले सोच आएन। ट्रेन छुट्न १० मिनेट जति अझै बाकीँ थियो। सबै समान राखेर म मेरो सिटमा आराम गर्न बसिसकेको थिए। त्यहि बखत मेरो आँखा ट्रेनको झ्याल बाहिर एउटा सानो पुस्तक पसलमा पुग्यो।

रहस्य र त्रास कथासामग्री समेटिएको लेखहरु पढ्न मलाई खुब रूची लाग्छ। बाहिर निस्केर त्यस्तै पुस्तक खोजेर पढौँ कि भनेर सोच्न थालेँ। तर समय कम थियो। ट्रेन हिड्न केहि मिनेटमात्र बाँकी थियो। पुस्तक खोज्ने सुरमा ट्रेन छुट्ने पो हो कि भनेर म निस्किन अन्कनाएँ। त्यहि बेला मेरो आँखा एक पुस्तकमा पुग्यो। “शेर्लक होम्स का कथाहरु” लेखिएको त्यो पुस्तक पसलको अगाडिको सिसामा देखिने गरि राखिएको थियो। केहि नसोची म ट्रेन बाहिर निस्केर पसल तिर दौडिँए। पसलमा अरू कोहि ग्राहक थिएनन्। त्यहि भएर पसल पुग्ने बित्तिकै पसलेसंग कुरा गरि रू ३५० मा मैले त्यो पुस्तक खरिद गरेँ र दौडिदैँ फेरी ट्रेनमा फर्केँ। अब यो यात्रामा पनि अल्छि लाग्ने भएन भन्दै निर्धक्कसँग म आफ्नो सिटमा बसेँ। बसेको २ मिनेटमा हात्तिको सुँड गर्जिएझैँ ठुलो आवाजमा ट्रेनको सिटी बज्यो र ट्रेन जुरुक्क हल्लियो।

ट्रेन हिड्न थालेछ। मेरो समान सबै सिटमुनी घुसाएर ठेगाना लगाँए। ट्रेन कम्पार्टमेन्ट भित्र क्याबिनहरु हुन्छ। कम्पार्टमेन्टको क्लास अनुसार हरेक क्याबिनमा सिटको सँख्या फरक हुन्छ। म ८ सिट र AC भएको क्याबिनमा थिँए। त्यस्तो कम्पार्टमेन्टको एकापटि तल र माथि एक-एक सिट हुन्छ र अर्कोपटि २ साईडमा माथि, बिच र तल गरेर जम्मा ६ वटा सिट हुन्छन्। मेरो सिट मैले वर्णन गरेको पहिलोपटिको तल्लो सिट थियो। ट्रेन गुड्न सुरू भएको केहि समयपछि कम्पार्टमेन्ट सहायकले तन्ना, तकिया र कम्बल दिएर गयो। मैले सिटमा तन्ना लगाएँ, तकियालाई एक साइडमा राखेँ र कम्बल ओडेर सिटमा पल्टिएँ।

शेर्लक होम्सको कथासंग्रह। बेलायती लेखक, सर आर्थर कोनन् डोयलको सबैभन्दा चर्चित लेख र पात्र जस्लाई बिभिन्न टेलिभिजन श्रिँखला र चलचित्रमा अनुकरण पनि गरिएको छ। २२१बी बेकर स्ट्रिटमा बस्ने शेर्लक होम्स एक काल्पनिक जासुस हुन् जो जसुसी विज्ञान, अवलोकन र तर्कमा निकै प्रख्यात छन्। प्राय जसो कथाको सुरुवात उन्को डेरामा हुन्छ जहाँ उनि आफ्ना ग्राहकको समस्याको वर्णन सुन्छन् र त्यो रहस्य समाधान गर्न थाल्छन्। पहिले देखि नै मेरो शेरलक होम्स सम्बन्धी लेखहरमा निकै चासो हुने गर्दथ्यो। त्यो दिन पनि म निकै उत्साहित भएर त्यस पुस्तकको पानाहरु पल्टाउँदै एक-एक गर्दै अध्यायहरू पढ्न थालेँ। यात्राको अन्तरालमा ट्रेनको क्यान्टिनबाट केहि कर्मचारीहरु चिया नास्ता र खाजा लिएर आउथे। तर म भने आफ्नो पुस्तकमा मग्न थिए। कथाहरु पढदै जाँदा मलाई न भोक न प्यासको महसुस भयो। कति बेला रात भैसकेछ, पत्तै लागेन।

विजयवडा जक्सन पुगेपछि खाली रहेको मेरो क्याबिनको सिटहरुमा ६ जना यात्रु एकैपल्ट आए। तिनीहरुको हल्लाले मेरो ध्यान भँग गरिदियो र मैले किताबलाई छेउ लगाएँ। कुरा सुन्दै गएपछि थाह भयो कि ति यात्रुहरु आमा, बुवा, ३ छोरा र एक जेठी छोरी भएको एक सिँगो परिवार रहेछ। ६ जनाको सिटमा उनिहरू बसेपछि एकजना लगभग ६० देखि ६५ बर्षको बुढो मानिस आफ्नो सिट खोज्दै त्यो परिवार सामु पुग्यो। त्यस परिवारको टिकट श्रिँखला मिलेको रहेनछ। ६ जनाको मध्ये एउटा सिट म बसेको देखि मथिल्लो पटिको सिटमा परेको रहेछ। उनिहरू एक परिवार भएको कारण ति बुढो मानिसलाई मेरो माथिको सिट लिन आग्रह गरे। उनिहरू आपसमा सिटको लागि छलफल गर्न थाले र म फेरी एकपटक किताबमा ध्यान दिन थालेँ। छलफलको गुनगुन एक्कासी बन्द भयो। के चैँ निश्कर्षमा पुगेछन् भनेर मैले हेर्न खोज्दा देखेँ, सबैजना को नजर म तिर रहेछ।

विनम्रतापुर्वक हिन्दीमा मलाई ति बुढो मानिसले माथिको सिट लिन आग्रह गरे। पुस्तकप्रतीको मेरो ध्यान अघिको हल्लाले भँग गरेकोले म अलि रिसाहा सुरमा थिँए। हिन्दी बुझ्दिँन जस्तो सँकेत दिएर बेवास्ता गर्ने मन थियो। तर एकातिर ति रून लागेको अनुहार भएको परिवारको बिन्ती थियो र अर्कोतिर ति बुढो मानिसको समस्या। त्यसबखत मलाई त्यो क्याबिनको एकमात्र स्वार्थि मानिस हुन मन लागेन। आरामले पल्टिरहेको म आफ्नो सिटबाट उठेर सिधा भएर बसेँ र एक्छिनमा खाना खाएपछि माथिको सिट लिउँला भन्दै उनिहरूको आग्रह स्विकार गरेँ। मेरो स्विकार्यले त्यो परिवार पनि खुसि देखिए र ति बुढाले पनि मलाई शुक्रिया प्रदान गरे। एक्छिनमा ट्रेन क्यान्टिनको कर्मचारी आयो र सबैको खानाको अर्डर लिएर गयो। त्यस्को १ मिनेट पछि टि.टि आयो र क्याबिनमा भएको सबैजनाको टिकट एक-एक गर्दै हेर्न थाल्यो। टिकट अनुसार सिट नमिलेको देखेपछि टि.टि ले सिट अनुसार किन नबसेको भनेर सोध्न थाल्यो। सबै कहानी सुनाएपछि टि.टि ले मलाई साटेको सिट ठिक छ कि नाई भनेर सोध्यो।

मैले ठिक छ भनेर ईशारा गर्दै टाउको हल्लाँए र टि.टि आफ्नो बाटो लाग्यो। त्यसपछि म एकपटक फेरी आफ्नो पुस्तक पढ्न सुरु गरेँ। मैले पुस्तक पढुन्जेल ति बुढाले मलाई एक नजरले आँखा बन्द नगरी हेरिरहेका थिए। मैले यो कुराको चाल पाएपनि केहि नभनी पढिरहेँ। केहि पाना पढिसकेपछि खाना आयो। सिटको एकतर्फ ति बुढा र अर्कोतर्फ म बसेर आ-आफ्नो खाना खान थाल्यौँ। खाउन्जेल सम्म बुढाको नजर बेला बेलामा म तिर हुन्थ्यो। तर म भने बेवास्ता गरेर खाना खाईरहेँ। खाना खाईसकेपछि ट्रेन कर्मचारीले नयाँ यात्रु हरुलाई मेरो जस्तै कम्बल, तक्या र तन्ना ल्याईदियो। त्यसपछि अगि भने अनुसार मैले मेरो समान हरु माथिको सिटमा सारेँ र माथि गएँ। एकपटक फेरी मैले आफ्नो ध्यान पुस्तकमा लगाएँ तर दिनभरीको खाली पेट र बेलुकाको खानाले मलाई बिस्तारी निद्राको काखमा पुर्यायो।

राति एक्कासी म निद्राबाट बिँउझिएँ। मोबाइलमा समय हेर्दा रातको २ बज्न लागेको थियो। पिसाब लागेको जस्तो महसुस भएर म निद्राकै सुरमा माथिको सिटबाट झरेर वासरूम गएर आएँ। फर्किदाँ निद्रा खुलेर केहि होस आएको थियो। माथि चढ्न लागेको बेला मैले देखेँ, ति बुढा अझै नि निदाएका रहेनछन्। झ्यालबाट बाहिर हेरेर पल्टिरहेका ति बुढा म वासरूम गएर आएको थाह पनि पाएनन्। तर फेरी वास्ता नगरी म आफ्नो सिटमा चढे र सुत्न गएँ।

भोलिपल्ट ट्रेन गुडिरहेकै बेलामा मेरो निद्रा खुल्यो। झ्याल नहुने त्यो अँध्यारो सिटमा आँखा खुले पनि निकै बेरसम्म म नचली पल्टिरहेँ। यस्तो सिट परेको यात्रुलाई बिहान र बेलुका भएको पत्ता लाग्दैन। मेरो साटो अरु कोहि आधी बाटो सम्मको मात्र यात्रु भएको भए उस्को उत्रिने स्थान छुट्थ्यो होला। तर मेरो गन्तब्य यो ट्रेन को अन्तिम स्टेसन भएकोले मलाई त्यस्तो केहि डर थिएन। जसरी पनि अन्तिम स्टेसनमा पुग्दा मलाई ट्रेन कर्मचारीले उठाई हाल्नेछन्। त्यहि भएर त्यहाँसम्म पुगुन्जेल सुतेरै समय बिताइदिम कि जस्तो लाग्यो। तर एकाएक गर्दै मेरो ध्यान एक शिर्षकबाट अर्कोमा सर्दै गयो र मलाई हिजो खरिद गरेको पुस्तकको सम्झना भयो। हिजो पढ्दा पढ्दै निदाएको भएर एक नयाँ अध्याय सुरू त गरेको थिएँ तर अगाडी पढ्न पाएको थिईन। बरू सुत्न भन्दा पढेर समय बिताउनु पर्यो भनेर म जुरूक्क उठेर तल झरेँ र मुख धुन कम्पार्ट्मेन्टको वाशरूम तिर लागेँ।

कम्पार्टमेन्टको अन्त्यमा रहेको वाशरूममा पुगेपछि मैले ति बुढालाई ट्रेनको ढोका खोलेर बाहिर हेर्दै रमाईरहेको देखेँ। मलाई पनि बाहिर हेर्न मन् लागेर त्यस व्यक्तिको छेउमा उभिँए। अनुहार राजेश खन्ना जस्तो र आवाज अमिताभ बच्चन जस्तो भएका ति बुढाले मलाई हिन्दी मै शुभ बिहानी भने। मैले पनि बुढाले भनेकै शब्द प्रयोग गरेर जवाफ दिँए।

बुढा सँगको मेरो दोस्रो कुराकानी त्यहाँ सुरू भयो। नेपाली र भारतियहरूको अनुहारमा खासै फरक देखिन्न। अझ मेरो अनुहार दक्षिण भारतका स्थानिय बासिन्दा जस्तो देखिने भएको भएर मेरो अध्ययनको अवधी भर कसैले मलाई पहिलो भेटमा नेपाली भनेको थिएन। तर ति बुढाले मेरो राष्ट्रिय भेष पत्ता लगाईसकेका रहेछन्। त्यसैले मैले हिन्दी, नेपाली र अँग्रेजी मध्ये कुन भाषा बोल्न सजिलो लाग्छ भनेर बुढाले पहिलो प्रश्न गरे। मलाई न नेपाली बोलेर बुढालाई दु:ख दिनु थियो न हिन्दीमा बुढाको वचन सुन्नु थियो। त्यसैले हामी अँग्रेजीमा वार्ता गर्न थाल्यौँ। मेरो गन्तव्य कता हो भनेर बुढाले मलाई दोस्रो प्रश्न गरे।

त्यस ट्रेनमा मेरो गन्तब्य कलकत्ताको हाउराह स्टेसन सम्म थियो। तर मेरो यात्रा त्यहाँ सक्किने थिएन। हाउराह स्टेसनबाट मलाई स्यालडाह स्टेसन जानु थियो। त्यँहाबाट फेरि अर्को ट्रेन चढेर मलाई जोग्बनी सम्म पुग्नु थियो। जोग्बनी नेपाल र भारतको बोर्डरमा पर्दछ। वारी भारतको जोग्बनी र पारी नेपालको बिराटनगर। बिराटनगर मेरो आफ्नै मामाघर पर्ने भएकोले एकपल्ट त्यहाँ पाईला टेकेपछि मलाई आफन्तको घरसम्म पुग्न कुनै संकोच हुने थिएन। यस भन्दा अघि न्यु जल्पाईगुरी स्टेशनबाट मात्र मेरो ट्रेन रूट परेको थियो र कल्कत्तामा भने म पहिलो पल्ट पाईला टेक्दै थिएँ। नयाँ शहरमा म एक आगन्तुक। त्यहाँ को समाजिक चालचलन कस्तो होला, मान्छे कस्तो होलान्, भाषा कस्तो होला, मलाई केहि थाह थिएन। यो चिन्ता मलाई टिकट काटेको समयदेखि लागिरहेको थियो। बुढाको दोस्रो प्रश्नले मेरो मनको त्यो चिन्ता फेरि बल्झायो।

नेपाल जादैँ गरेको र कल्कत्तामा अर्को ट्रेन फेरी चढ्नु पर्ने जानकारी दिदैँ बुढाको प्रश्नको जवाफ दिएँ। मैले जोग्बनीको ट्रेनको जानकारी मात्र दिएको के थिए, बुढाले ट्रेन रूट र प्रस्थान गर्ने समय जति भएको सबै विवरण भट्याउन थाले। मानौ कि त बुढा कल्कत्ता कै बासिन्दा थिए कि त रेलका कर्मचारी। मेरो अनुहारमा चिन्ताको आकार देखेर म कल्कत्ता पहिलो पल्ट जाँदैछु भन्ने कुरा पनि बुढाले यो पनि पत्ता लगाएछन्। सायद त्यहि भएर मलाई स्टेशन सम्म जानलाई सहयोग गर्ने आश्वासन बुढाले दिए। त्यति सुनेर मेरो अनुहारमा भएको चिन्ताको आकार खुसीमा परिणत भयो। बुढा पनि मलाई देखेर जोरले फिल्मी पाराले गललल हाँसे।

बुढासंग त्यहाँबाट बिदा लिएपछी, मुख धोएर र चिया खाएर म फेरी आफ्नो सिट तिर लागेँ। अँध्यारो ठाउँ मलाई मनपर्दैन। राति सिट साटेको कारणले म त्यो न झ्याल, न बत्ती भएको सिटमा परेको थिएँ। त्यसैले म आफ्नो किताब लिएर फेरि तल्लो सिटको एकातिर कुनामा बसेँ। लगभग १५ मिनेट पछि बुढा फर्किए र त्यहि सिटको अर्को तिर बसे। झोलाबाट चस्मा निकालेर मैले पढ्दै गरेको किताब मजाले नियाल्न थाले। ट्रेनमा समय बिताउने मलाई लागेको सबैभन्दा उत्तम उपाय हो यो भनेर बुढालाई सुनाएँ। निकै चासोको साथ हिजो राती जस्तै, चस्मा मिलाउदै मेरो पुस्तकलाई एक्छिन नियालिरहे। बुढालाई पनि पढ्न चासो लागेछ कि भन्ने सोच आएर मैले मेरो हातमा भएको किताब उहाँलाई दिन खोजे तर बुढाले किताब लिएनन्। उल्टै त्यस किताबमा रहेको सबै अध्याय पढिसकेको दाबि गरे। बुढा पक्कै गफाडि स्वभावका होलान् भनेर म मुस्कुराई रहेँ। सायद ति बुढाले मैले मनमनै खिल्ली उडाईरहेछु भनेर चाल पाएका थिए। त्यहि भएर मलाई त्यस किताबमा भएको जुनसुकै अध्यायको प्रश्न सोध्न आग्रह गरे।

सुरूमा गफाडी लागेका बुढा अब त फुर्के पनि रहेछन् जस्तो लाग्न थाल्यो। तर पनि मैले बुढा को मान राख्न केहि सोधिहालौँ भनेर निर्णय गरेँ। अगाडि पढिसकेको अध्याय हरू पल्टाउन थालेँ। तर मलाई पहिला पढेको कुनै अध्याय याद थिएन। हुन पनि एकपल्ट मात्र पढेको कुरा कसैलाई नै याद हुन्छ र। सोधौँ त के सोधौँ, म अन्योलमा परेँ। मैले पढ्न लागेको अध्याय, “स्क्यान्डल ईन बोहेमिया”, हिजो राती सुरू मात्र गरेको थिएँ। बुढाकै मुखबाट पुरै कहानी सुनौँ न त भनेर सोच्दै त्यहि कथाको सारांश भन्नलाई आग्रह गरेँ। बुढाले मुस्कान दिएर कथा वाचन गर्न सुरू गरे।

कथा भनुन्जेल बुढाले भनेको सबै विवरण सहि थियो कि गलत मलाई थाह थिएन, किनकी म एक ध्यानले बुढाको कथा सुनिरहेको थिएँ। त्यो दिनसम्म त्यस्तो कथावाचन मैले कसैको मुखबाट सुनेको थिईन। कुनै शिक्षकले कक्षामा रमाईलो बालकथा सुनाएको बेला, जस्तो रुचि राखेर विद्यार्थीहरू एकध्यानले सुनिरहन्छन्, त्यस्तै रुचिका साथ म बुढाको वाचन सुनेको सुनै भँए। कथा सुनुन्जेल म आफै शेर्लक होम्स भएर रहस्य सुल्झाउन निस्केको जस्तो दिमागमा चित्रहरू देखिरहेँ। कथा सक्कियो। तर म भने निशब्द नै थिँए। वाचन गरेको जति कतै गलत रहेमा अध्याय पढेर पुष्टि गर्न वहाँले मलाई प्रस्ताव पनि राखे। तर अध्याय भन्दा पनि ति बुढा कति ज्ञानी रहेछन् भनेर बुझ्नमा म बढि उत्सुक थिएँ।

मैले पढेको स्नातक तहको मुख्य विषयमा तार्किक प्रश्नहरू धेरै समाधान गर्नु पर्छ। तार्किक प्रश्नहरू त हाम्रो लागि नतोकिएको, नलेखिएको पाठ्यक्रम सामग्री जस्तो थियो। अहिले पनि हो। नबुझेको कुरा जसरी एक विद्यार्थीले शिक्षकलाई सोध्ने गर्दछ, त्यसरी नै कौतुहलताको साथ मैले पनि बुढालाई एक प्रश्न त गरिहालेँ। तर तार्किक प्रश्नहरू सबैको लागी हैन। समाधान गर्न तेज बुद्धि हुन आवश्यक छ। त्यसमाथि ति बुढा मानिसले आफ्नो उमेरमा जवाफ दिन नसक्लान भनेर प्रश्न सोधेको २ सेकेण्डमै मलाई आत्मग्लानी महसुस भयो।

२ सेकेण्डमा भएको आत्मग्लानी त्यसपछिको ४ सेकेण्डमा हरायो। बुढाले त्यति छोटो समयमा फ्याट्टै उत्तर दिसकेका थिए। म आश्चर्यचकित भँए। एक्छिन मुखबाट आवाज निकाल्नै नसक्ने गरी फेरी निशब्द भएँ। उत्तर मिलेन कि भनेर बुढाले मलाई प्रश्न गरे। उत्तर मिलेको छ भन्दै मेरो बोली फेरि सुचारू भयो। केहि प्रश्न अझै गरेँ। बुढा फ्याट फ्याट न अन्कनाई जवाफ दिए। तार्किक प्रश्न मात्र हैन, मैले विज्ञान, साहित्य, गणित, के के को प्रश्न सोधिन होला। बुढा कुनै कुनै प्रश्नमा केहि समय लगाए पनि जवाफ भने जैले सहि मात्र दिन्थे। मेरो उत्साहले सिमा नागिसकेको थियो। बुढा आध्यात्म ग्यान देखि खगोल ग्यान, सबैका खानी थिए। मेरा प्रश्नहरू भने सकिँदै जाँदै थियो। अन्तिममा मेरो दिमागमा एउटै प्रश्नमात्र बाँकी रह्यो। मेरो जिवनको सबैभन्दा महत्त्वपुर्ण प्रश्नको उत्तर सायद यि बुढाले दिन सक्लान भनेर मलाई बिश्वास जागेको थियो। त्यस्पछि मैले नहिच्किचाई मेरो प्रश्न उन्को सामु राखेँ।

“जिवनको अर्थ के हो?”

बुढाले सायद यो प्रश्न मबाट अपेक्षा गरेका थिएनन्। म एकपल्ट फेरि मेरा पाठकहरूलाई सम्झना गराउन चाहन्छु कि त्यसबेला म भर्खरै किशोर उमेरबाट उम्केर काँधमा जिम्मेवारी बोक्ने र समाजमा घुल्मिल हुने उमेरमा पुगेको थिएँ। म जस्तो जवान युवाले अहिले देखि जिवनको अर्थ खोज्ने तात्पर्य के होला भनेर बुढा पनि एक्छिन हैरान भए र मलाई सोधे पनि। जिवनमा के को उद्देश्य राख्नु, जिवन पाएपछि मानिसको प्रमुख दायित्त्व के हो, के सबै व्यर्थ मात्र हो त, भनेर थुप्रै तर्क र प्रश्नहरू मैले पेश गरेँ। लगभग ६० वर्ष नाघिसकेका ति बुढालाई त्यो प्रश्नले गम्भिर सोचमा पो पुर्यायो कि? मैले यो प्रश्न शोधेर गलती पो गरेँ कि? एक्छिन म पनि हैरान भएँ।

“खोलामा भएको बगिरहने पानीको अर्थ के हो?” — बुढा बोल्न थाले। “खोला बग्छ। बग्दै गएर त्यस्को पानी ताल अथवा समुद्रमा समेटिन्छ। घामको तापले बाफ भएर आकाशमा जान्छ र बादल बन्दछ। बादल गज्रिन्छ र पानी फेरि धर्तीमा आउँछ त्यहि चक्रमा घुम्न। त्यसबिच पानिलाई मानिस तथा जिवजन्तुले पिउछन्। त्यहि पानीले धर्ति भिजाएपछि धर्तिबाट वनस्पती, फल्फुल र अन्नहरू उम्रिन्छ। तर बिचमा धेरै अरु प्रयोजनमा प्रयोग भएपनि पानीको यो चक्र कहिले टुट्दैन।”

“मानिसको जिवन पनि त्यस्तै हो। सबै मानिस आ-आफ्नो कर्तव्य पुरा गर्नको लागि यो संसारमा जन्मिन्छन्। जुनसुकै मानिस बाल उमेरमा संसारलाई आ-आफ्नो तरिकाले अन्वेषण गर्छन्। चाहे धनि होस चाहे गरिब, बाल अवस्थामा एक बालकले आफ्नै नजरले संसार नियालेको हुन्छ। त्यसपछि आउछ किशोर उमेर। यो उमेरमा मानिसलाई त्यहि नियालेको संसारमा आफ्नो अस्तित्व खोज्ने चासो हुन्छ। उस्ले, संसारले दिन सक्ने वर्दान र अभिषाप, दुवैको महसुस गर्दछ। आफु पनि केहि गर्छु भनेर अठोट लिन्छ र वयस्क जिवन को तयारी गर्दछ। तिम्रो उमेरसम्म जिवन धान्ने धेरै जस्तो सिपहरू मानिसले लग्भग प्राप्त गरिसकेको हुन्छ। यहि सिप लिएर मानिस अघि बढ्छ।”

“तर संसार भनेको सबै शु:खको मेला हैन। जसरी पानी नदिको किनारमा ठोक्किदै भएपनि बगिरहन्छ। त्यसरी नै मानिस पनि जिवनको ठोकर खाँदै अघि बढ्छ। उ प्रयास गर्छ। कसैको प्रयास केहि समय मै लाभदायक हुन्छ भने कसैको बर्षौँ समय लाग्न सक्छ। त्यसैले मानिसले विकल्पहरु पनि खोज्दै जान्छ। अब समाजले कुनै कर्म ईज्जतदार र कुनै बेकार भनेर धेरै जसो कर्महरू र ति कर्म गर्नेहरूलाई अपहेलना गर्दछ। तर कर्म अथवा काम भनेको काम हो। कुनै ठुलो कुनै सानो भन्ने काम भन्ने हुँदैन। दिनको अन्त्यमा एक छाकले भएपनि पेट भर्न नै त हामी जो कोही पनि खटिरहेका छौँ। बस् तिमी मानिसलाई दु:ख र हानी हुने काम नगर, तिमीलाई भग्वानले सँधै आशिर्वाद दिन्छन्।”

“जिवन भनेको कर्म मात्रै हो त? के मानिसको जिवनमा मनोरञ्जनको स्थान छैन त? छ, तर मानिसले मनोरञ्जनको वास्तविकता पनि बुझ्नु पर्छ। खेलकुद, चलचित्र, घुमघाम, यि सबै मनोरञ्जनका क्रियाकलापहरूमा समान कुरा के छ त? साथीभाई, ईष्टमित्रहरू संग हुने रमाईलो। जब हामी खुसी अथवा दु:खि हुन्छौँ तब हामिलाई समाज र साथी कै आवश्यकता हुन्छ। मनोरञ्जन भनेको क्षणभरको लागि मात्र हो भन्ने कुरा मानिसले बुझ्नु पर्दछ। त्यसबाट हामीले प्राप्त गर्नुपर्ने भनेको परिवार र मित्रहरूको आजिवन साथ र भरोसा हो। लिनु भन्दा बढि खुसी दिनुमा हुन्छ। जब साथीभाईहरुसंग मिलेर दु:ख र सु:ख बाडिन्छ, त्यस्तो आनन्द कुनै मनोरञ्जनले दिन सक्दैन।”

“यसरी नै परिवार र मित्रहरू मिलेर मानिसको समाज बन्छ। पानीको एक थोपा एक्लै समुद्र पुग्न सक्दैन। त्यस्तै लाखौँ थोपा साथ मिलेर खोला बनेपछि मात्र समुद्रसम्मको यात्रा सफल हुन्छ। हामी मानिस पनि यि थोपा जस्तै हौँ। मानिस बुद्धिजिव प्राणी हो। एक्लै बस्न मानिसको स्वभाव हैन। हामी समाजमा बसेर एकअर्कालाई साथ दिँदै अघि बढ्छौँ। हो, कहिले काहिँ समाजमा झगडा हुन्छ, छिमेकीहरू बिच ईर्ष्या हुन्छ, लोभ र लालच हुन्छ। तर ति सबै के का लागि? सबै मानिस आ-आफ्नै जिवनको वेदनाबाट दु:खी हुन्छ। सबैको आफ्नै कथा हुन्छ, आफ्नै पिडा हुन्छ। आखिरमा गएर दु:खको समयमा त्यहि छिमेकी, त्यहि समाजले साथ दिन्छ। जिवनलाई सरलतापुर्वक कटाउनु छ भने मानिसले समाजमा घुलमिल हुन सिक्नु पर्दछ। तर समाजमा भएको सबै मानिसले यो पनि बुझ्नु पर्दछ कि सबै मानिस एकसमान हुदैनन्।”

“भगवद् गितामा भनिएको छ, मानिसले मोक्ष पाउने २ उपाय छ। एक कर्मबाट, अर्को भक्तिबाट। मानिसले भगवानलाई सम्झेर कर्म गर्यो भने मृत्यु पछि मोक्ष पाउने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ। त्यसैले जिवनमा आफुलाई सुम्पिएको कर्म आफुले निसंकोच पुरा गर्नु पर्दछ। त्यहि नै मानिसको कर्म हो, त्यहि नै मानिसको धर्म हो। भगवानको विभिन्न अवतारहरू को भक्तहरूले यस संसारमा विभिन्न धर्मको आस्था राखे पनि भगवान एक छन् र धर्म पनि एक नै छ। हामी सबै मानिस त्यहि भगवानका एक सानो अंश मात्र हौँ। यस धर्तिमा हामी सबै एक उद्देश्य बोकेर आएका हुन्छौँ। कसैको उद्देश्य गैरवशाली हुन्छ भने कसैको सामान्य हुन्छ। तर त्यहि उद्देश्य प्राप्त गर्नु नै हाम्रो जिवनको मुल लक्ष्य हो। बस् जिवनले दिने कठिनाईहरू बाट निराश हुनु हुँदैन। जिवनको अर्थ यहि हो।”

गम्भिर सोचमा डुबेको देखेर बुढाले मलाई प्रतिप्रश्न गरेनन्। बुढाले बुझिसकेका थिए कि मलाई भर्खरको अर्तीलाई केलाउन केहि बेर लाग्नेछ। म भने सोचमा यति डुबेछु कि बुढा कति बेला मरो अगाडि निदाएछन्, पत्तै लागेन। उमेरको दोष होला, बुढा निद्रा मै कहिले हात हल्लाउथे, कहिले खुट्टा र कहिले हिन्दीमा केहि बर्बराउथे। कस्तो जिवन थियो होला? के के सहेका र के के अनुभव गरेका थिए होला? यति धेरै ग्यान बटुल्नलाई जिवनमा के गर्नु पर्ला? म बुढालाई यो सब सोध्न चाहन्थे। तर बुढा गहिरो निद्रामा मस्त थिए।

त्यस ट्रेनमा बक्शिश दिने चलन रहेछ। राम्रो यात्रु सत्कारको उपहार स्वरूप कर्मचारीहरूलाई यात्रुहरूले अन्तिम स्टेशनमा पुगेपछि बक्शिशको नाममा केहि रकम दिने रहेछन्। लग्भग ५ बजे बेलुका हाम्रो ट्रेन हाउराह स्टेशन पुग्दा मेरो सामु पनि ति कर्मचारीहरू बक्शिश लिन प्रस्तुत भए। तर मसँग रकमको नाममा केहि सय भारतिय रूपैँया मात्र थियो र आगन्तुक शहरमा के कसो रकम लाग्ने हो भन्ने ग्यान नभएर म बक्शिश दिन अनिच्छुक थिएँ। मेरो चिन्तित अनुहार देखेर बुढाले ति कर्मचारीहरूलाई हप्काए। पढ्ने विद्यार्थीले कसरी बक्शिश दिन सक्छ भनेर तर्क प्रस्तुत गरे। तर बुढा मनका पनि दयालु रहेछन्। कर्मचारीहरू निराश भएको देखेर २ वटा सयको नोट झिके र २ जनाको तर्फबाट एक-एक सय भन्दै बुढाले उनिहरूको हाथमा बक्शिश राखिदिए।

माथिल्लो सिटबाट म आफ्नो समान समेटेर तल झर्दा बुढा गैसकेका रहेछन्। म आत्तिएँ। सहयोग गर्लान भनेर आश राखेको मैले ति बुढालाई कतै भेट्न सकिन। हुन पनि मैले आफै ढिला गरेको थिएँ। जथाभावी फैलिएर बसेका मेरो समानहरू समेट्न मलाई निकै समय लाग्यो। सायद म त्यस ट्रेन कम्पार्टमेन्टबाट निस्कने अन्तिम यात्रु पनि थिएँ। बाहिर भिँड थियो र कुलीहरू मेरो समान उठाउन आत्तुर थिए। तर ति बुढालाई मैले कहिँ फेला पार्न सकिन। समान मेरो कम थियो त्यै भएर मलाई कुलीको सहायता लिन आवश्यक थिएन। तर आगन्तुक शहरमा कताबाट कता जान मिल्छ भन्ने कुरा यस्तै मानिसलाई ग्यान हुन्छ भनेर मैले २० रूपैँयामा कुलीको सहायता लिएँ। कुलीले मलाई किरायामा ट्याक्सी चढ्ने लाइनसम्म पुर्याएर, यहाँबाट स्याल्डाह स्टेशनको ट्याक्सी पाईन्छ भनेर सल्लाह दियो। उस्को सेवा र सहायता बापत मैले २० रूपैँया उस्को हाथमा राखिदिएँ र उ खुसि हुँदै अर्को ग्राहक खोज्न फेरी स्टेशन भित्र गयो।

ट्याक्सी चढ्ने लाइन लामो थियो। लाइनको आखिरी स्थानमा उभिन नपाउदै पछाडिबाट एक परिचित आवाज ठुलो स्वरमा कराउँदै मेरो नजिक आईपुग्यो। फर्केर हेर्दा त्यो परिचित आवाज त्यहि बुढाको रहेछ। मेरो अगाडी उभिएर बुढाले मेरा काँधहरूलाई जोडले समाएर मलाई हल्लाउन थाले। मुखबाट केहि शब्द निस्किरहेका थिए तर मैले ति शब्दहरू ठम्याउन सकिन। मेरो बाहु र काँध दुख्न थालेको थियो। निलो पोशाकमा २ स्वास्थ्यकर्मी जस्तो देखिने मानिसहरूले बुढालाई जबरजस्ती समाएर यम्बुलेन्समा नलगेको भए सायद मलाई त्यसबेला गहिरो चोट लाग्ने थियो। तर मेरो ध्यान आफ्नो चोट भन्दा बुढाले मप्रती त्यस्तो ब्यवहार किन गरे र ति २ मानिस को थिए भन्ने कुरामा थियो। केहि निस्कर्ष निकाल्नु अघि नै मेरो सामु एक सेतो एप्रन लगाएको व्यक्ति आएर मलाई केही चोट लागेको छ कि भनेर सोध्न थाल्यो। चोटको विवरण दिएपछि मैले उस्लाई के भईरहेको छ र ति बुढालाई कता लगेको भनेर सोधेँ। आफुलाई मानसिक अस्पतालको डाक्टर भन्ने त्यस व्यक्तिले मलाई ति बुढा साचैँमा मानसिक रोगी हुन् भनेर जवाफ दियो।

म आश्चर्यचकित भएँ। त्यस्तो विद्वान मानिस कसरी मानसिक रोगी हुन सक्छ? मलाई त्यस डाक्टरको अलिकती पनि पत्यार लागेन। मेरो अनुहारमा भएको अविश्वास देखेर डाक्टरले मलाई बुढाको बारेमा छोटो जानकारी दिए। बुढा धेरै पढेका रहेछन्। एक विषयमा मात्र हैन, वहाँ सयौँ विषयका ग्यानी रहेछन्। ठुला ठुला विश्वविद्यालयका गुरूहरूका पनि गुरू भैसकेका रहेछन्। तर केहि १० वर्ष अगाडि दुर्गट्नामा परेर शिरमा चोट लागेको भएर बुढाले मानसिक सन्तुलन गुमाएका रहेछन्। डाक्टरले भने अनुसार २ महिना अगाडी, अस्पतालमै उपचारको बेला, मौका छोपेर, बुढा अस्पतालबाट भागेका रहेछन् र त्यो दिन बल्ल फेरी अस्पतालको नियन्त्रणमा आएका रहेछन्।

यति भनेर डाक्टर आफ्नो बाटो लागे। म चैँ फेरी ट्याक्सीको टिकट काट्न लाइनमा लागेँ। मलाई आश्चर्य, दया, रिस, सबै एकै बेला लागिरहेको थियो। टिकट काटेको केहि बेरमा मेरो ट्याक्सी आयो र म अर्को स्टेशन तिर लागेँ। चालकबाट स्यालडाह स्टेशन पुग्न आधा गन्टा जति लाग्ने जानकारी पाएपछि मैले समय बिताउन र भर्खरको घटनाबाट ध्यान हटाउन झोलामा रहेको शेर्लक होम्सको किताब निकालेर फेरी पढ्न थालेँ। आगामी अध्यायको शिर्षक, “स्क्यान्डल ईन बोहेमिया”। हिजो भर्खर मैले बुढाको आवाजमा सुनेको कथा। कति सम्म चैँ पढेका रहेछन् भनेर जान्ने रहरले मैले त्यो कथा फेरि पढ्न थालेँ।

मैले पढेको र मैले सुनेको कथाहरूमा आकाश र पाताल जस्तो भिन्नता थियो। कथाका पात्रहरू बाहेक सबै बिषयवस्तु फरक थिए। बुढाले कुन चैँ कथा मलाई सुनाए भन्ने जिज्ञासाले होला, आजसम्म मैले शेर्लक होम्सको सबै कथा पढिसकेको छु। अहिले महसुस भएको छ। बुढाले आफ्नै कथा रचेका रहेछन्। शेरलक होम्सलाई लिएर रचिएको त्यो कथा सर आर्थर कोनान डोयलको रचना भन्दा केहि कम छैन। यदि त्यो कथा ठाउँको ठाउँ रचिएको थियो भने सायद यो संसारमा त्यो कथा सुन्ने म एकमात्र मानिस होला।

आज म लग्भग वहाँकै उमेरको छु। जिन्दगीको अनुभव मैले पनि गरेको छु। म बिश्वासका साथ यति दाबी गर्न सक्छु कि त्यो दिन डाक्टरले वहाँको बारेमा बोलेको शब्दहरूमा केहि वाक्य झुटो थियो। मलाई थाह थिएन के-कस्तो घटनाले ति बुढाको मानसिक स्थिती बिग्रन पुगेको थियो। मलाई वहाँको न नाम थाह थियो, न ठेगाना। त्यसैले केहि १० वर्ष पछि म एकपल्ट फेरी कल्कत्ता गएर भएभरको सबै अस्पतालमा वहाँलाई खोज्न पुगेको थिएँ। बल्लबल्ल एक अस्पतालमा थाह भयो वहाँ कुनै शारिरिक चोटको कारण पागल भएका रहेनछन्। मलाई पनि याद छ वहाँको शिरमा कुनै चोटको निशान थिएन। कुरा बुझ्दै जाँदा थाह भयो वहाँलाई पागल बनाउने अरू केही होईन, वहाँ कै ग्यानको खोज रहेछ। भगवान बुद्धले बुढौली, रोग र मृत्यु देखेर ग्यानको खोजीमा निस्किए झैँ वहाँपनि अन्याय र गरिबी देखेर सत्य ग्यानको लागी भोकाएका रहेछन्। तर ग्यानको खोज वहाँको लागि अभिशाप बन्न पुगेछ। संसारमा लाखौँ करोडौँ ग्यानगुनका किताबहरू छन्। तर यो जति पढे पनि वहाँको चित्त बुझाउन र प्रश्नको उत्तर दिन कुनै किसिमको किताबले सकेन। त्यहि अपुर्णता र अभावको भावनाले बहाँको मस्तिस्कमा असर परेछ र वहाँ पागल भएछन्।

विद्वान को हो? कस्लाई भन्न सकिन्छ? के लाखौँ खर्च गरेर डाक्टर, ईन्जिनियरलाई भन्ने? कि समाज र देश हाक्न सक्नेलाई भन्ने? मानिसको परिस्थिती र अनुभवको हिसाबले विद्वानको परिभाषा भिन्न हुन सक्छ। सायद मेरो नजरमा विद्वानको परिभाषा पनि त्यहि हिसाबले तपाईँभन्दा फरक हुन सक्छ। तर जस्ले जिवन र संसार बुझेको छ, ऊ भन्दा ठुलो विद्वान अरू को होला र? मलाई जिवनको छोटो झलक दिने ति बुढा पनि मेरो विचारमा विद्वानकै समुहमा पर्छन। संसारले वहाँलाई पागल घोषित गरेपनि मेरो नजरमा वहाँ जस्तो विद्वान मैले आजसम्म भेटेको छैन।

--

--

Bon

Music Enthusiast, Guitarist, Software Engineer, Writer